एसइईको उमेरहद हट्यो, १४ वर्षै पुग्नु नपर्ने

काठमाडौंः माध्यमिक शिक्षा परीक्षा (एसइई) मा लाग्ने उमेर हद हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पुगेकाले मात्र दिन पाउने व्यवस्था हटाएको हो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले यही वर्षबाट कक्षा–१० को परीक्षाका हकमा उमेरहद नलाग्ने जानकारी दिए ।
‘अब जति सुकै उमेरकाले कक्षा–१० को परीक्षा दिन पाउँछन्,’ उनले भने । उमेर हद कायम गरिँदा परीक्षार्थीहरूलाई समस्या भएको भन्दै त्यो व्यवस्था हटाएको उनको भनाइ छ । उनका अनुसार यसअघि नै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐनमा भएको उमेर हदको व्यवस्था हटाउन बोर्डलाई परिपत्र गरेको थियो । यस वर्षको एसइई परीक्षा आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अनुसार सबै जिल्लामा २ हजार परीक्षा केन्द्र तोकिएको छ । ११ हजारभन्दा बढी विद्यालयबाट करिब ५ लाख परीक्षार्थीले यस वर्षको एसइई परीक्षा दिँदैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार